'लकडाउन' का बेला शरीर चाहिँ चलाउनुस्– विश्व स्वास्थ्य सङ्गठन

काठमाण्डौ - लकडाउनका बेला घरमै बस्दा पनि शारीरिक सक्रियता भने कायम राख्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । लामो समय बसिरहँदा शरीरमा अर्को समस्या आउन सक्ने भन्दै घरभित्रै गर्न सकिने शारीरिक कसरत गर्न सङ्गठनको आग्रह छ ।

अहिले घरमै बस्दा धेरैले टेलिभिजन हेर्ने, मोबाइल–कम्प्युटर बढी चलाउने, पुस्तक पढ्ने जस्ता काममा दिन बिताइरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले हरेक २० देखि ३० मिनेटको अन्तरमा उठेर पाँच मिनेटसम्म शरीर तन्काउने, घर वरिपरि वा सिँढीमा तलमाथि गर्ने, बगैँचा वा वरिपरि घुम्ने गरेमा स्वास्थ्य सुधार हुने बताएको छ ।

हरेक दिन शरीरलाई सक्रिय बनाउनको लागि एउटा तालिका बनाइ घरमै गर्न सकिने व्यायामहरु गर्न पनि विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ ।

सम्भव भएमा साथीहरु अनलाइनमा जोडिएर व्यायाम गर्न र नसकिएमा पनि दैनिक एउटा निश्चित समय व्यायामका लागि छुट्याएर पालना गर्न भनिएको छ । यो समयमा घरमा भएका परिवारको साथ सक्रिय हुन र साथीहरुसँग सञ्चारका माध्ययमबाट सम्पर्कमा रहिरहन आग्रह गर्दै विश्व स्वास्थ्य सङ्गठनले यो समय परिवारसँगै बगैँचामा हिँड्ने, साइकल चलाउने, आराम गर्ने, मिलेर खाना बनाउने गरेमा शारीरिक र मानसिक दुवै स्वास्थ्य ठिक रहने बताएको छ ।

परिवारका सबै सदस्यहरु दिनभर के गर्ने भन्ने योजना बनाउने, रचनात्मक काम गर्ने, नयाँ कुरा सिक्ने प्रयास गर्ने, यो कुरा गर्ने भनेर लक्ष्य बनाउने र पूरा गरे वा नगरेको छलफल गर्ने, केही दिनमा वा साप्ताहिक रुपमा घरमा बसेको समयमा के गरियो भनेर समीक्षा समेत गर्ने गरेमा मानिस दिक्क हुनबाट बच्ने र स्वस्थ शाक सक्रियताका साथै मानिसिक रुपमा रहने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

लकडाउनका बेला शरीरलाई सक्रिय राख्न विश्व स्वास्थ्य सङ्गठनले दिएका केही सुझावहरु :

एक वर्षभन्दा  कम उमेरका शिशुहरूका लागि-

बच्चा ब्युँझिएको बेला उसँगै बिताउनुस् । तपाईँ बच्चासँग भुइँमा खेल्ने खेलहरु खेल्नुहोस् ।

पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूको लागि-

घर र यसको वरिपरिको खेल्न सकिने खेलहरु खेल्ने । बच्चाहरुमा श्वास बढ्ने गरी वरिपरि दौडने, उफ्रने, चिप्लने जस्ता खेलहरु खेल्ने ।
 
पाँच वर्षदेखि १७ वर्षसम्मका बच्चा तथा किशोर अवस्थाका लागि-

परिवारका साथ सक्रिय भएर खेल्ने । 
सम्भव भए अनलाइनबाट शारीरिक शिक्षा कक्षा लिएर उपयुक्त व्यायमहरु गर्ने ।   
घरको भित्र नै उफ्रेर डोरी नाघ्ने जस्ता खेल खेल्ने वा नयाँ खेलहरु र यति सक्नु भन्ने लक्ष्य लिएर विभिन्न खेल खेल्न सकिन्छ । 
नयाँ सीपहरु सिक्ने जस्तो विभिन्न तरिकाबाट जादु गर्न सक्ने ।  
तौल उठाउने, घिसार्ने जस्ता मांसपेशीमा बल पुग्ने खालका गतिविधिहरु गर्ने । 

वयस्कहरूको लागि

सकेसम्म सिँढीमा चढ्नुहोस्
धेरै शारीरिक गतिविधि हुनको लागि घरको कामहरू गर्नुहोस्
मुटुको गति बढाउने खालको काम गरिरहने दिनचर्या बनाउनुहोस्
तौल उठाउने, घिसार्ने जस्ता मांसपेशीमा बल पुग्ने खालका गतिविधिहरु गर्नुहोस्
सम्भव भएमा अनलाइन कक्षा लिएर विभिन्न व्यायामहरु गर्नुहोस्
सिट अप, प्रेस अप जस्ता व्यायमहरु गर्नुहोस्
वातावारण सङ्गीतमय बनाउनुहोस्, नाच्नुहोस् 
परिवारका सदस्यहरु मिलेर मन पर्ने खेलहरु प्रतियोगिताकै रुपमा खेल्नुहोस् 

Source : ujyaaloonline(dot)com