भारतबाट फर्किनेको स्वास्थ्य परीक्षणमा ढिलाइ स्वास्थ्यकर्मी क्वारेन्टाइन भित्रै पस्दैनन्

धनगढी — लकडाउनको पहिलो साता बिते पनि सुदूरपश्चिम प्रदेशमा विभिन्न नाका भएर भारतबाट नेपाल भित्रिने क्रम अझै ठप्प हुन सकेको छैन । कैलालीका गौरीफण्टा र खक्रौला, कञ्चनपुरको गड्डाचौकी तथा बैतडीको भुलाघाट नाकाबाट लकडाउनपछि पनि नेपालीहरु घर फर्किरहेका छन् । 

गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार लकडाउनयता करिब २४ सय नेपाली यो नाका भएर आएका छन् । फागुन २३ देखि नाकामा जाँच सुरु भएको हो । त्यसपछि लकडाउन नहुँदासम्म ७५ हजार नेपाली भारतका विभिन्न ठाउँबाट फर्किएका छन् । धनगढीको गौरीफण्टा नाकाबाट पनि गड्डाचौकीकै हाराहारीमा नेपाली कामदारहरु घर फर्किएका छन् । त्यसअघि पनि दैनिक ४/५ हजारको संख्यामा आउने गरेका थिए ।

कतिपय दोधारा चाँदनी र भीमदत्त नगरपालिकाकै ब्रह्मदेव क्षेत्र भएर महाकालीमा ट्युबबाट समेत लुकिछिपी आइरहेका छन् । आवागमन बढेपछि सशस्त्र सशस्त्र प्रहरीले यहाँको झोलुंगे पुलमा मंगलबार ताला लगाएको छ । दार्चुलाको सीमाक्षेत्रमा भने ५ सयभन्दा बढी नेपाली कामदारहरु नेपाल भित्रिन नपाई अलपत्र परेका छन् । उनीहरु ४ दिनदेखि महाकाली नदी किनारमा छन् । यसैबीच, उनीहरुलाई भारतको धार्चुलाका क्वारेन्टाइनमा राख्ने व्यवस्था भइरहेको दार्चुला जिल्ला प्रशासनले जनाएको छ ।

नौ जना आइसोलेसनमा, ३० जना उपचारपछि फर्किए

सुदुरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भूषण मिश्रका अनुसार हालसम्म प्रदेशभरि १६४ आइसोलेसन बेड तयारी अवस्थामा छन् । हाल नौ जना आइसोलेसनमा छन् । ३० जना उपचारपछि घर फर्किएका छन् ।

बुधबारसम्म ४४ जना बिरामीको ल्याब परीक्षण गरिएकोमा २७ जनाको नेगेटिभ आएको छ, एक जनाको पोजेटिभ आएको छ । १६ जनाको नतिजा आउन बाँकी छ । सेती प्रादेशिकलाई कोरोना उपचारका लागि डेडिकेटेड अस्पतालका रुपमा स्थापना गरिएको छ । कञ्चनपुरको महाकाली अस्पतालबाट हालसम्म आठ जनाको नमुना संकलन गरी पठाएकामध्ये ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । चार जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरि श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरसका बिरामीको जाँच, उपचार, नियन्त्रण तथा रोकथामका तयारीहरुको समन्वय गरिरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले १० वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको बताएको छ । निर्देशनालय स्रोतका अनुसार हालसम्म विभिन्न जिल्लामा ९९४ जना क्वारेन्टाइनमा छन् ।तर, जिल्लाहरुमा भने लकडाउन अघि आएका अधिकांश घर गएका छन् । पछि आएकाहरु पनि कतिपय क्वारेन्टाइन छोडेर घर फर्केका छन् । निर्देशनालयका अनुसार बुधबारदेखि शंकास्पद बिरामीको स्वाब परीक्षण सुरु हुनेछ । धनगढीमा ल्याब स्थापनाको प्रक्रिया सुरु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

जताततै स्वास्थ्य सामग्रीको अभाव

महाकाली अस्पतालका मेसु डा. हरि श्रेष्ठले स्वास्थ्यकर्मीको सामग्री र उपचार उपकरण अभाव भएको बताए । ‘अब अक्सिजन सकिन लागेको छ, यदि बिरामी बढेमा समस्या हुन सक्छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री त अभाव नै छ ।’

अछामका विभिन्न स्वास्थ्य संस्थाहरुमा सर्जिकल मास्क, पीपीई, स्यानिटाइजरलगायतका सामग्री अभाव रहेको स्वास्थ्य प्रमुख झनकराज ढुंगानाले बताए । ‘प्रदेश सरकारले एक हजार पिस मास्क शुक्रबारसम्म पठाउने भनेको छ,’ उनले भने ।

बैतडीमा पनि स्वास्थ्य सामग्रीको अभाव रहेको जनस्वास्थ्य प्रमुख योगेश भट्टले बताए । उनका अनुसार जिल्लाभर अहिलेसम्म १ सय १० वटा मास्क र ५५ वटा मात्र पीपीई सेट छन् ।

स्वास्थ्यकर्मी नै पस्दैनन् क्वारेन्टाइनभित्र

डोटीका विभिन्न ठाउँमा रहेका २४ वटा क्वारेन्टाइनमा ३ सय ९८ जना बसेका छन् । स्वास्थ्यकर्मीहरु सुरक्षाको कारण देखाउँदै कुनै पनि क्वारेन्टाइन भित्र पस्न सकिरहेका छैनन् । सेती सभाहलको क्वारेन्टाइनमा बसेका केआईसिंह—७ का जोगी नाथले कुनै पनि स्वास्थ्यकर्मी परीक्षणका लागि भित्र नआएको बताए । उनले खानबस्न समस्या नभए पनि नियमित स्वास्थ्य परीक्षण भने गरिदिन आग्रह गरे ।

यसैबीच, सोमबार स्वास्थ्य सामग्रीको पहिलो खेप धनगढी आइपुगेको छ । क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीका अनुसार ती सामग्री बुधबारदेखि जिल्लाका स्वास्थ्य संस्थाहरुलाई पठाइनेछ ।

Source : कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक