अमेरिकामा कोरोनाको त्रास : आफन्तको मृत्यु हुँदा रूनसम्म नपाएको नेपालीको दुखेसो

काठमाडौं । अमेरिका कोरोनाभाइरस (कोभिड १९)को सबैभन्दा बढी प्रभावित मुलुकमा परेको छ । पछिल्लो विवरणअनुसार अमेरिकामा सवा लाख मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् भने २२ सयभन्दा बढीको मृत्यु भएको छ । यस्तै ३२ सयभन्दा बढी संक्रमित मानिस उपचारपछि निको भएका छन् । 

अमेरिकामा लकडाउन गरिएको छैन । लकडाउन गर्ने विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्प र स्थानीय मेयरबीच मतभेद रहेको समाचार आइरहेको छ । आइतबार बिहान रेडियो नेपालका वरिष्ट पत्रकार हरिशरण लामिछानेसँग कुरा गर्दै अमेरिकामा रहेकी एक महिला पत्रकारले लकडाउन लगाउने विषयमा राष्ट्रपति ट्रम्प र स्थानीय मेयरबीच कुरा नमिलेको बताइन् । 

कोरोनाको प्रकोप बढ्दै गएकोपछि अमेरिकामा भयावहको अवस्था सृजना भएको छ । रेडियो नेपालसँग ती महिला पत्रकारले गरेको संक्षिप्त कुराकानी  

न्यूयोर्कमा धैरै संक्रमण फैलिएको छ । मानिसहरुलाई घर बाहिर ननिस्किन भनिएको छ । नेपालीसहितको विभिन्न समुदायका संगठनले घरमै औषधि र खाद्यन्न ल्याइदिएका छन् । तर, दुःखको कुरा, आफन्तको मृत्यु हुँदा रुनसम्म पाइएको छैन । केही दिन अघि एक नेपालीको कोरोनाका कारण मृत्यु भयो । उनकी श्रीमतीलाई सम्झाउन जानसम्म पाइएन । कोरोना संक्रमित भए पनि घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ । स्वास फेर्न गाह्रो भए मात्रै अस्पताल आउन भनिएको छ । कोरोनाका कारण मृत्यु हुनेको शव परिवारले पाउँदैनन् । कहाँ कसरी राखिएको छ थाहा छैन । 

Source : canadanepal(dot)com